सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ।
सच्याइएको सूचीअनुसार जनजाति क्लस्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक (भूगोल) तर्फ गण्डकीबाट पूजा बाँस्तोला निर्वाचित भएका छन्।
आफूभन्दा कम मत ल्याएका उम्मेदवारलाई विजयी घोषणा गरिएको भन्दै मगर र बाँस्तोलाले निर्वाचन आयोगमा उजुरी दिएका थिए। उजुरीमाथि अध्ययनपछि आयोगले त्रुटि सच्याउँदै कृष्णमान श्रेष्ठ र सोम शर्माको स्थानमा क्रमशः मगर र बाँस्तोलालाई निर्वाचित घोषणा गरेको हो।
गत शुक्रबार सम्पन्न महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाले प्रतिस्पर्धा गरेका थिए। मतपरिणाम सार्वजनिक भएपछि विजेताको सूचीमा त्रुटि देखिएको भन्दै परेको उजुरीपछि आयोगले संशोधित निर्णय सार्वजनिक गरेको हो।