Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

तत्काल पार्टी एकता हुँदैन, भ्रममा नपर्नुस् : ओली


सारांश

तत्काल पार्टी एकता हुँदैन, भ्रममा नपर्नुस् : ओली
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको स्पष्ट गर्दै त्यससम्बन्धी भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। यद्यपि लोकतान्त्रिक व्यवस्था जोगाउन लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिबीच कार्यगत एकता आवश्यक रहेको उनले बताएका छन्।

राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै ओलीले अपहरित लोकतन्त्र पुनःस्थापनाका लागि साझा संघर्षको आवश्यकता औंल्याए। उनका अनुसार विभिन्न राजनीतिक शक्तिबीच संस्थागत पार्टी एकता होइन, साझा उद्देश्यका लागि सहकार्य आवश्यक छ।

ओलीले एमालेले कुनै दलसँग समूहगत वा संस्थागत रूपमा एकता नगर्ने नीति कायम राखेको बताउँदै पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने खुला मनले स्वागत गरिने बताए। उनले विगतका पार्टी एकतामा सिद्धान्तभन्दा स्वार्थ, गठबन्धन र राजनीतिक दाउपेच हाबी भएकाले अपेक्षित परिणाम नआएको टिप्पणी गरे।

उनले पार्टी एकता पवित्र उद्देश्यका साथ हुनुपर्ने धारणा राख्दै एमालेलाई अझ सुदृढ बनाउने दिशामा सबैको सुझाव आवश्यक रहेको बताए।

भदौ २३ र २४ गते भएका घटनाबारे बोल्दै ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथि पनि प्रश्न उठाए। गोली कसले चलायो र दुई दिनसम्म सुरक्षा संयन्त्र किन निष्क्रिय रह्यो भन्ने मुख्य प्रश्नको उत्तर प्रतिवेदनमा नआएको भन्दै उनले आयोग गठनको उद्देश्य नै ती घटनालाई ढाकछोप गर्नु रहेको आरोप लगाए।

ओलीले अहिले पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको दाबी गर्दै त्यसको सामना गर्न संगठनभित्र थप एकता, अनुशासन र सुदृढीकरण आवश्यक रहेको बताए।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij