Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रास्वपामा महिला नेतृत्वको दबदबा, केन्द्रीय समितिमा ५१ प्रतिशत महिला


सारांश

रास्वपामा महिला नेतृत्वको दबदबा, केन्द्रीय समितिमा ५१ प्रतिशत महिला
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिमा ५१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्दै नेपाली राजनीतिक इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ। नेपालका राष्ट्रिय मान्यता प्राप्त दलहरूमध्ये पहिलो पटक कुनै दलको निर्वाचित केन्द्रीय समितिमा महिलाको संख्या पुरुषभन्दा बढी पुगेको हो।

रास्वपाको विधानले केन्द्रीय समितिमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेको भए पनि महाधिवेशनको निर्वाचन परिणामले त्यो सीमा पार गर्दै महिलाको प्रतिनिधित्व ५१ प्रतिशत पुगेको छ। महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्ये ५० जना महिला निर्वाचित भएका छन्। तीमध्ये २६ जना प्रादेशिक क्लस्टरबाट र २४ जना राष्ट्रिय क्लस्टरबाट विजयी भएका हुन्।

प्रादेशिकतर्फ पनि महिलाको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती प्रदेशबाट पाँचै जना महिला उम्मेदवार विजयी भएका छन्। त्यस्तै, कोशी र मधेशबाट चार–चार, गण्डकीबाट तीन, लुम्बिनीबाट चार, कर्णालीबाट चार तथा सुदूरपश्चिमबाट तीन जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

राष्ट्रिय खुला केन्द्रीय सदस्यतर्फ पनि महिलाले बलियो उपस्थिति जनाएका छन्। खुला प्रतिस्पर्धाबाट नौ जना महिला नेतृ विजयी भएका छन्। निर्वाचित हुनेमा सोविता गौतम, डा. तोसिमा कार्की, रञ्जु दर्शना, समीक्षा बास्कोटा, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, गीता चौधरी र लिमा अधिकारी रहेका छन्।

रास्वपाको यो नतिजालाई नेपाली राजनीतिमा महिला नेतृत्वको बढ्दो सहभागिता र समावेशी प्रतिनिधित्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij