Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पासपोर्ट प्रकरणमा जर्मन दूतावासको प्रस्टोक्ति: ‘नेपाली कूटनीतिज्ञलाई समन होइन, निमन्त्रणा गरिएको हो’


सारांश

पासपोर्ट प्रकरणमा जर्मन दूतावासको प्रस्टोक्ति: ‘नेपाली कूटनीतिज्ञलाई समन होइन, निमन्त्रणा गरिएको हो’
images

काठमाडौं । नेपालको इ–पासपोर्ट छपाइ प्रक्रियासँग जोडिएका विषयमा सार्वजनिक भएका समाचारबारे काठमाडौंस्थित जर्मन दूतावासले स्पष्टीकरण दिएको छ। दूतावासले जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत (चार्ज–डे अफेयर्स) लाई ‘समन’ नगरिएको, सामान्य कूटनीतिक भेटघाटका लागि मात्र निमन्त्रणा गरिएको जनाएको हो।

दूतावासका अनुसार बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मन विदेश मन्त्रालयले छलफलका लागि निमन्त्रणा गरेको हो। केही सञ्चारमाध्यममा प्रकाशित ‘समन’ सम्बन्धी समाचार गलत र भ्रामक रहेको दूतावासको भनाइ छ।

दूतावासले कूटनीतिक अभ्यासमा ‘निमन्त्रणा’ र ‘समन’ बीच स्पष्ट भिन्नता हुने उल्लेख गरेको छ। सामान्य भेटघाट वा छलफलका लागि निमन्त्रणा गर्नु नियमित कूटनीतिक प्रक्रिया भए पनि ‘समन’ भने औपचारिक असन्तुष्टि वा गम्भीर विषयमा प्रयोग हुने प्रक्रिया रहेको दूतावासले स्पष्ट पारेको छ।

‘देख्नमा सामान्य शब्दको भिन्नता जस्तो लागे पनि कूटनीतिमा यसको विशेष महत्व हुन्छ,’ दूतावासले भनेको छ।

दूतावासका अनुसार नेपाली कूटनीतिज्ञलाई कुनै विरोधपत्र वा औपचारिक कागजात हस्तान्तरण गरिएको छैन। साथै, अदालतमा विचाराधीन मुद्दाको सम्भावित परिणामबारे कुनै चेतावनी वा टिप्पणी पनि नगरिएको जनाएको छ।

‘न्यायपालिकाको स्वतन्त्रता जर्मनीको संविधानद्वारा सुनिश्चित भएको आधारभूत सिद्धान्त हो, जसलाई हामी पूर्ण सम्मान गर्छौं,’ दूतावासले बुधबार जारी गरेको स्पष्टीकरणमा उल्लेख गरेको छ। साथै, अदालतमा विचाराधीन कुनै पनि मुद्दामा दूतावासले टिप्पणी नगर्ने र यस प्रकरणमा पनि त्यस्तो कुनै टिप्पणी नगरेको स्पष्ट पारेको छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij