Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जनतामाझ जान सभामुख अर्यालको सांसदलाई आग्रह


सारांश

जनतामाझ जान सभामुख अर्यालको सांसदलाई आग्रह
images
काठमाडौं । सभामुख डीपी अर्यालले संसद् बैठक स्थगित भएको अवधिलाई सांसदहरूले जनतासँग प्रत्यक्ष संवाद र विमर्श गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठक आगामी साउन १४ गते बिहान ११ बजेसम्म १५ दिनका लागि स्थगित गर्दै सभामुख अर्यालले यस अवधिमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्नुपर्ने बताएका हुन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको अन्त्यमा संक्षिप्त सम्बोधन गर्दै उनले संसद् र जनताबीचको सम्बन्ध जति बलियो हुन्छ, लोकतन्त्र पनि त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासिलो बन्ने विश्वास व्यक्त गरे।
उनका अनुसार संसद् बैठक नरहेको समयमा सांसदहरू जनतामाझ पुगेर त्यहाँबाट उठेका आवाज र मुद्दालाई संसद्मा प्रस्तुत गर्नेछन्। त्यसबाट सरकारलाई जनताप्रति अझ बढी जवाफदेही बनाउन सहयोग पुग्ने उनले बताए।
‘सांसदमार्फत संकलित जनताका आवाजहरू संसद्मा प्रवेश गर्नेछन् र सरकारको जवाफदेहिताको विषय बन्नेछन्। जनताबाट संसद्सम्म समस्या र संसद्बाट सरकारसम्म समाधानको माग पुग्नु नै प्रतिनिधिमूलक लोकतन्त्रको वास्तविक शक्ति हो,’ सभामुख अर्यालले भने।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij