सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदका स्वकीय सचिव नियुक्तिलाई थप पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक कार्यनिर्देशन लागू गरेको छ।
पार्टीका अनुसार राज्यकोषबाट उपलब्ध हुने सुविधाको प्रभावकारी सदुपयोग सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरिएको हो।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद वा परिवारवादबाट बाहिरका, प्रविधिमैत्री, अनुसन्धानमा दक्ष तथा पार्टीको मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
निर्देशनमा समावेशीतालाई प्रोत्साहन गर्ने, दोहोरो सुविधा लिइरहेका वा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्ति नगर्ने तथा छनोट प्रक्रिया प्रतिस्पर्धात्मक र निष्पक्ष बनाउनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, स्वकीय सचिवका लागि उम्मेदवार छनोट भएपछि नियुक्तिअघि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ।
निर्देशनमा पार्टीका सबै सांसदले उच्च नैतिक आचरण, पारदर्शिता र जनउत्तरदायित्व कायम राख्नुपर्नेमा पनि जोड दिइएको छ।