Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मधेसमा तनाव बढ्दै- सुनसरी, धनुषा र सिराहामा कर्फ्यु, पर्सामा निषेधाज्ञा


सारांश

मधेसमा तनाव बढ्दै- सुनसरी, धनुषा र सिराहामा कर्फ्यु, पर्सामा निषेधाज्ञा
images
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ। सम्भावित तनाव फैलिन नदिन स्थानीय प्रशासनले सुनसरी, धनुषा, सिराहा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा लागू गरेको हो।

सुनसरीमा साउन ११ गतेदेखि लागू गरिएको कर्फ्यु आदेशलाई देवानगञ्ज, कप्तानगञ्ज, महेन्द्र राजमार्ग आसपासका क्षेत्र तथा इनरुवा बजारसम्म विस्तार गरिएको प्रशासनले जनाएको छ। घटनापछि सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ।

यता, जनकपुरमा प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका केही स्थान कर्फ्युको दायरामा परेका छन्।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय सिराहाले पनि लहान, गोलबजार र चोहर्वा क्षेत्रमा बिहीबारदेखि कर्फ्यु लागू गरेको छ। सम्भावित प्रदर्शन र सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।

उता, पर्साको वीरगन्जमा पनि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने निषेधाज्ञाअनुसार वीरगन्ज महानगरपालिकाभित्र प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेटसम्मको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij