Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रधानमन्त्री बालेन शाहको देशवासीलाई अपिल: ‘हिंसा होइन, शान्ति र सद्भाव रोजौँ’


सारांश

प्रधानमन्त्री बालेन शाहको देशवासीलाई अपिल: ‘हिंसा होइन, शान्ति र सद्भाव रोजौँ’
images

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेका छन्। उनले सबै पक्षलाई संयमता अपनाउन, अफवाहबाट टाढा रहन र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उनले बताएका छन्।

उनका अनुसार घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको छ। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै सरकारले शान्ति सुरक्षा कायम गर्न आवश्यक सबै कदम चालिरहेको उनले बताए।

प्रधानमन्त्रीले सर्वदलीय बैठक, राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवासँग संवाद भइरहेको जानकारी दिए। गृहमन्त्री प्रभावित क्षेत्रमा पुगेर अवस्थाको प्रत्यक्ष अनुगमन गरिरहेको पनि उनले उल्लेख गरे।

सम्बोधनमा उनले सामाजिक सञ्जालमा असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री साझा नगर्न नागरिकहरूलाई आग्रह गरे। आधिकारिक स्रोतबाट जारी हुने सूचनामात्र विश्वास गर्न अनुरोध गर्दै सामाजिक सद्भाव भड्काउने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए।

प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई धर्म, संस्कृति र परम्परा पालना गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा प्रतिशोधको भावना फैलाउनु अनुचित हुने बताए।

सम्बोधनको अन्त्यमा उनले मैथिली भाषामासमेत अपिल गर्दै नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल र सञ्चारमाध्यमलाई धैर्यता र जिम्मेवारीका साथ शान्ति, सद्भाव, भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij