सारांश
साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने महिलाहरुले आज विधिपूर्वक व्रत समापन गर्दैछन्। धार्मिक मान्यताअनुसार साउनका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार श्रद्धापूर्वक व्रत तथा पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वास छ।
भगवान शिवलाई सोमबार प्रिय दिन मानिने भएकाले यस दिन व्रत, पूजापाठ, दान तथा धार्मिक गतिविधि गर्ने चलन छ। यही अवसरमा बोलबम तीर्थालुको समेत देशभरका शिवालयमा बाक्लो उपस्थिति देखिएको छ। बोलबम भक्तहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिनाथमा अर्पण गर्दै पूजा आराधना गरेका छन्।
पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको प्रसिद्ध हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
त्यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबार विशेष पूजा तथा बोलबम मेलाका लागि भक्तजनको भीड लागेको छ।
यस वर्ष साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको समेत संयोग परेको धर्मशास्त्रका जानकारहरुले बताएका छन्। सोमबारकै दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिन्छ।
धार्मिक मान्यताअनुसार सूर्यास्त आसपासको प्रदोषकाल भगवान शिवको आराधनाका लागि विशेष शुभ मानिन्छ। यस समयमा शिव मन्दिरमा पुगेर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
सोमप्रदोषका दिन भगवान शिवलाई दूध, दही, घ्यु तथा बेलपत्र अर्पण गर्ने परम्परा छ। पहेँलो वस्तु चढाएर पूजा गर्दा समेत शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको जानकारहरु बताउँछन्।