सारांश
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको छ ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता प्रदीप ज्ञवालीले केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि राजनीतिक संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको जानकारी दिए ।
उनका अनुसार पालिकामा पालिका अध्यक्ष तथा प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिइएको छ । उद्धार तथा राहतका काममा सबै राजनीतिक दललाई जोडेर प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा बैठकमा जोड दिइएको उनले बताए ।
सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनु उपयुक्त हुने भए पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहल गरेको ज्ञवालीले बताए । अब यस्ता विषयमा सरकारले नै आवश्यक चासो लिनुपर्ने उनको भनाइ छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रमा रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएझैँ बागमती प्रदेश, बाढी प्रभावित जिल्ला र पालिकामा पनि राजनीतिक संयन्त्र बनाउने सहमति भएको बताए ।
उनका अनुसार स्थानीय तहसम्म गठन हुने संयन्त्रले सरकारसँग समन्वय गर्दै उद्धार र राहतसँगै पुनर्स्थापन तथा पुनर्निर्माणका काममा समेत सहयोग गर्नेछ ।