Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दीपक साह यसरी पुगे उद्योगमन्त्रीको कुर्सीमा


सारांश

दीपक साह यसरी पुगे उद्योगमन्त्रीको कुर्सीमा
images

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी–४ बाट निर्वाचित दीपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । साहले बिहीबार नै पदभार ग्रहण गरेका छन् ।

साहको राजनीतिक यात्रा भने निकै उतारचढावपूर्ण छ । उनले छोटो अवधिमै चारवटा राजनीतिक दलको यात्रा गरिसकेका छन् । इञ्जिनियर पेसामा रहेका साह जनमत पार्टी गठनका क्रममा डा. सीके राउतका निकट सहयोगी थिए । पार्टी गठनपछि उनी उपाध्यक्ष तथा अनुशासन आयोग प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारीमा पुगेका थिए ।

जनमतको सुरुवाती चरणमा पार्टी कार्यालयसमेत साहकै भक्तपुरस्थित घरमा सञ्चालन भएको थियो । तर पछि राउतसँगको सम्बन्ध बिग्रिँदै गएपछि साहलाई पार्टीले निष्काशन गर्‍यो ।

त्यसपछि साहले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरे पनि अदालतबाट त्यसले मान्यता पाएन । उनले फेरि ‘सर्वोदय’ नामको दल दर्ता गराए । तर निर्वाचनको मुखमा सर्वोदयलाई रास्वपामा विलय गराउँदै साह स्वयं रास्वपामा प्रवेश गरे ।

रास्वपाबाट सुनसरी–४ मा उम्मेदवार बनेका साहले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई फराकिलो मतान्तरले पराजित गरे । उनले ४२ हजार ७७१ मत पाउँदा कार्कीले १६ हजार ५८७ मत प्राप्त गरेका थिए ।

यसरी दल परिवर्तन गर्दै राजनीतिमा अघि बढेका साह अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij