सारांश
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गरेका छन् ।
नेता खानले आज भिडियो लिङ्कमार्फत आफ्नो पार्टीका कार्यकता तथा समर्थकलाई सम्बोधन गर्दै शासकहरूबाट भएको संवैधानिक प्रावधानको उल्लङ्घन रोकिनुपर्नेमा जोड दिँदै न्यायालयलाई त्यसमा हस्तक्षेप गर्न आग्रह गरे । असुरक्षा र आर्थिक समस्यालाई देखाएर आम निर्वाचन स्थगन गर्न वर्तमान सरकार उद्यत रहेको आरोप पनि उनले लगाए ।
संविधानको उल्लङ्घनले विधिको शासन र मौलिक अधिकार हनन् हुने बताउँदै पूर्वप्रधानमन्त्री खानले सरकारका गलत निर्णयमा अङ्कुस लगाउन तथा संविधानको रक्षाका निम्ति ठोस कदम चाल्न अनुरोध गरे ।