सारांश
काठमाडौं । रमजानको व्रत बस्ने व्यक्तिले सूर्योदयदेखि सूर्यास्तसम्म पानी समेत पिउँदैनन् । उक्त समयमा धुम्रपान, मद्यपान र यौन क्रियाकलाप पनि बन्देज गरिएको छ । तर सूर्यास्त भएपछि भने यो नियम लागु हुँदैन । सूर्यास्तपछि व्रत भंग गरेर खाना खान सकिन्छ । व्रत भंग गर्नका लागि पानी र खजुर खाने परम्परा छ । त्यसपछि भने सूर्योदय नभएसम्मका लागि खानाका लागि थुप्रै परिकार बनाएर खाइन्छ ।
दिनमा इस्लाम धर्मावलम्बीहरुले नमाज पढ्छन् र समाजको उन्नतिको कामना गर्दै अल्लाहको पूजा गर्छन् । बिहान सूर्योदयभन्दा अगाडि उठेर नास्ता गरेर नमाज पढेपछि आफ्नो दैनिक काममा जान सक्छन् । त्यसपछि दिनभरि व्रत बस्ने र सूर्यास्तपछि खाना खाएर परिवारसँग समय बिताउनुपर्छ । एक महिनासम्म यो दैनिकी अपनाउनुपर्छ । रमजान एक पवित्र महिना हो, जसमा मुस्लिम समुदायका मानिसहरूले धेरैभन्दा धेरै परोपकारी कार्य गर्छन् र दुःखमा रहेका व्यक्तिलाई सहयोग गर्छन् ।
साना बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, बिरामी, महिनावारी भएका वा विशेष ख्याल राख्नुपर्ने व्यक्तिलाई व्रत नबस्न पनि छुट दिइन्छ । उनीहरुबाहेक सबैले यो व्रत बस्नेपर्ने परम्परा छ । यदि कसैले रमजानको समयमा व्रत बस्न मिलेन वा पाएन भने पनि महिना सकिएपछि पनि व्रतलाई कायम राख्न सक्छन् ।