काठमाडौं । बाग्लुङको एक विकट गाउँका निम्न मध्यमवर्गीय परिवारका चन्द्रले एसएसली दिइरहेकै बेला बुवा गुमाउनुर्यो । त्यतिबेला आमा र भाइबहिनीलाई जस्तोसुकै मूल्यमा दुःखबाट टाढा राख्ने अठोटबाट अघि बढेका चन्द्र अहिले आफूलाई नेपालका सफल व्यावसायीहरुको सूचीमा पार्न सफल छन् ।
उनको बाल्यकाल आम गाउँले बालबालिकाको जस्तै रह्यो । दैनिक धुलो–हिलो, दाउरा–घाँस, मेलापात जीविकोपार्जनको माध्यम थियो । त्यस्तो परिस्थितिमा घरपरिवारको मुख खाँबो टुटेपछि १६ वर्षका जेठो छोराले कलिलो काँध थाप्नुपर्ने भयो । पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए ।
त्यसमा धेरै चिन्तित नभई र नहड्बडाई लगनका साथ आफ्नो कर्ममा लागे । त्यसबेला एकमात्र ध्याउन्न थियो–आमा र भाइवहिनीलाई अभावबाट टाढा राख्नु। त्यसैका लागि काठमाडौंतिर हानिएका थिए ।
काठमाडौंमा कमाईका लागि कामसँगै पढाइलाई अगाडि बढाउन खोज्दा कठिनाइहरु कम थिएनन् । ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरु गरेका थिए । घरमा खर्च पठाउँदै पढाइ अगाडि बढाए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।
२०४८ तिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले नदिने भए, जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै ।
ती हाकिमकै अगाडि राजीनामा लेखेर बैंक ऋण लिएका ढकाल आज ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् ।
ढकालको करिब चार दशक लामो यो व्यवसायिक यात्रामा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीकाहरुको रेमिट्यान्स भित्र्याउने एउटा प्रमुख कम्पनी आईएमईका संस्थापक ढकाल आफैं पनि कुनै समय वैदेशिक रोजगारीमा थिए ।
उनले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहन्थे, भिसा पनि पाए । एकजना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उनले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाए । १० महिना जापानको एउटा छापाखानामा काम गरे ।
त्यतिबेला जापानको रोजगारीलाई निकै राम्रो मानिन्थ्यो । १० महिनामा केही पैसा कमाए पनि । नेपालको काम भाइले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । अब भाइ जापान जाने भए, चन्द्र अमेरिका नगई नेपाल फर्किए ।
त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने भरपर्दो औपचारिक माध्यम थिएन । हुण्डीबाट पैसा पठाउँदा ठगिनेको संख्या बढिरहेको थियो । चन्द्रलाई जापान बस्दा नै यसको समाधान खोज्नुपर्छ भन्ने लागेको थियो ।
सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्यसपछि मलेसियामा पनि हुण्डीकै कारण कामदार ठगिने घटनाहरु बढ्न थाल्यो । अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै नेपाल राष्ट्र बैंक पनि चिन्तामा थियो ।
ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही साल । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो । उनले त्यही अनुभवका आधारमा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । डा. तिलक रावल गभर्नर रहेको राष्ट्र बैंकले उनको प्रस्ताव सहजै स्वीकार गर्यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो ।
मलेसियाको केन्द्रीय बैंकबाट पनि स्वीकृति लिएर मलेसियाको ४–५ ठाउँबाट सेवा सुरु भयो । नेपालमा काठमाडौं, पोखरा लगायतका मुख्य शहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था गरिएको थियो ।
अहिले आईएमई नेपाली कामदार पुगेका सबैजसो देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको कुनै बैंक या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले ‘आईएमई गरिदिनुस्’ भन्ने गरेको अवस्थाले देखाउँछ ।
आईएमईको सफलतापछि चन्द्रले फाइनान्स कम्पनीमा पनि हात हाले । त्यसको सीमितता बुझेपछि वाणिज्य बैंकसँग मर्ज गराए ।
हाल उनी अध्यक्ष रहेका ग्लोबल आईएमई देशकै ठूलो चुक्ता पुँजी भएको र राज्यको नीतिलाई छिटो कार्यान्वयनमा लैजाने बैंकको रुपमा चिनिन्छ ।
आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिने गरेको दाबी गर्छ ।
समूहले सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी भएर सक्रिय छन् ।
ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आईएमई ग्रुपका हिस्सेदारी छ ।
पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् ।
सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित भइसकेका छन् ।
आईएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार ५७औं साधारणसभा मार्फत २०औं अध्यक्षमा उनी निर्वाचित भएसँगै निजी क्षेत्रको छाता संगठनको नेतृत्व तहमा पुगेका छन् ।
