Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

देवानी मुद्दा : यस्तो छ दर्ता देखि फैसला सम्मको प्रक्रिया


सारांश

देवानी मुद्दा : यस्तो छ दर्ता देखि फैसला सम्मको प्रक्रिया
images

देवानी मुद्दा :

- देवानी मुद्दा दर्ता गर्न आफ्नो मागदावी, वादी-प्रतिवादीको परिचय, मुद्दाको प्रकार, घटनाको जानकारी विस्तृतमा लेखेर फिरादपत्र बनाएर नागरिकता, मुद्दासँग सम्बन्धित कागजात र प्रमाण जुटाएर अदालतमा पेस गर्नुपर्छ। साथै साक्षीहरूको बयानको लिखित प्रमाण र सबै कागजातको प्रतिलिपिसहित अदालतमा पेस गर्नुपर्छ।

मुद्दाको बीचमा नयाँ प्रमाण भेटिए वा प्रमाण अरूसित रहे, नयाँ निवेदन लेखी थप प्रमाण भटिएको वा सम्बन्धित ठाउँ-व्यक्तिसित भएको कुराको जानकारी अदालतलाई दिनुपर्छ। अदालतले प्रमाणको प्रकार बुझेर उपयुक्त आदेश जारी गर्न मिल्छ।

-मुद्दा दर्ता गर्दा निवेदक आफैंले निवेदन मस्यौदा गर्न पाउँछन्। आफैं फिराद पत्र लेख्न चाहने निवेदकले मुलुकी देवानी कार्यविधि संहिताको दफा ९५ मा यसको ढाँचा पाउँछन्। फिराद पत्रको प्रतिउत्तर लेख्न चाहने निवेदकले मुलुकी देवानी कार्यविधि संहिताको दफा १२० मा रहेको ढाँचा हेर्न सक्छन्। ढाँचामा निवेदकले फिराद पत्रमा के-कस्ता कुरा खुलाउनुपर्छ भनेर स्पष्ट रूपमा उल्लेख गरेको हुन्छ। 

-मुद्दाको विगो अर्थात लेनदेनको रकमअनुसार अदालतले शुल्क तोकिदिएको हुन्छ। मुद्दापिच्छे विगो फरक हुने हुँदा अदालती शुल्क पनि फरक हुन्छ। 

-मुद्दा दर्ता भएर पेसी चढेपछि बहसका लागि अदालत जानुपर्ने हुन्छ। यस बखत वकिलको आवश्यकता पर्छ। फिरादबाहेक अन्य निवेदन नभएको खण्डमा वा अन्तरकालीन आदेशको निवेदन दर्ता गर्न वकिलको आवश्यकता पर्दैन। अन्तरकालीन आदेशको सुनुवाइका बेला भने कानुन व्यवसायी राख्नुपर्छ। 

-कानुनी व्यवसायीलाई दिनुपर्ने शुल्कबारे कतै तोकिएको छैन। 

-देवानी मुद्दा दर्ता भइसकेपछि प्रतिपक्षीलाई जानकारी गराइन्छ। २१ दिनभित्र अर्को पक्षबाट प्रतिउत्तर आएन भने थप १५ दिनको म्याद थप्न मिल्छ। प्रतिपक्षबाट प्रतिउत्तर आएपछि पेसीका लागि तारिक तोकिन्छ। सो मुद्दा अब इजलासमा जान्छ जहाँ न्यायाधीशले दुवै पक्षको बहस सुन्छन्। दुवै पक्षको प्रमाण पेस हुन्छ। वादी-प्रतिवादी दुवैको बयान लिइन्छ। साक्षीको बकपत्र लिइन्छ। सबै प्रमाण बुझ्ने प्रक्रिया सकिएपछि फैसलाको  कार्य अघि बढ्छ।

-प्रमाण लिने कार्य र बहस सकिएपछि सुनुवाइको एक महिनाभित्र फैसला आउँछ। जिल्ला अदालतबाट आएको फैसलामा वादी-प्रतिवादीलाई चित्त नबुझे पुनरावेदन दिन मिल्छ। फैसला आएको थाहा पाएको ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन हाल्न मिल्छ। पुनरावेदन हालेपछि सोही प्रक्रियाले मुद्दा अगाडि बढ्छ। उच्च अदालतले मुद्दालाई जस्ताको त्यस्तै सदर गरिदिए पुनः पुनरावेदन हाल्न मिल्दैन। यस्तो अवस्थामा ४५ दिनभित्र मुद्दा दोहोर्‍याइ पाऊँ भनेर सर्वोच्च अदालत जान मिल्छ।

मुद्दा दोहोर्‍याइ पाऊँ भनेर हालेको मुद्दाको फैसलामा केही फरक फैसला भएको र कानुनी त्रुटि फेला परेमा वा तथ्यगत त्रुटि भएको देखिए सर्वोच्चमा पुनरावलोकनका लागि जान सकिन्छ।

-अंश, सम्बन्ध विच्छेद, नाता प्रमाण, लेनदेन आदि जस्ता देवानी मुद्दाको समस्या आएमा सबैभन्दा पहिले जिल्ला अदालत गएर फिराद दर्ता गर्न सकिन्छ अथवा तपाईंविरूद्ध फिरादको म्याद आएमा तपाईंले तोकिएको समयभित्र प्रतिउत्तर पत्र हाल्नुपर्ने हुन्छ। 

 कानुनी सरसल्लाहका लागि वकिलको परामर्श लिए राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij