Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

खास के भएको हो राष्ट्रपतिलाई ?


सारांश

खास के भएको हो राष्ट्रपतिलाई ?
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ढाड दुख्ने, पायल्स तथा छातीसम्बन्धी समस्याले बेला बेलामा सताइरहन्छ । फोक्सोमा संक्रमण भएपछि गत वैशाख ६ गते थप उपचारका लागि उनलाई भारत लगिएको थियो । भारतको एम्स अस्पतालमा ११ दिन लामो उपचारपछि वैशाख १७ पौडेल निको भएर नेपाल फर्किए ।

तर, त्यसको डेढ महिना नबित्दै जेठ ३० गते ७८ वर्षीय पौडेलको मुटुमा समस्या देखियो । त्यही दिन सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍याइएका उनको अस्पताल बसाइँ दुई दिन रह्यो ।

पछिल्लोपटक भने जेठ २ गते राति फेरि मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो । मुटुको गति कम हुने समस्या देखिएपछि उनलाई ७२ घण्टा अब्जरभेसनमा राखिएको थियो ।

७२ घण्टाको निगरानीपछि पौडेलको मुटुमा गतिलाई सन्तुलनमा राख्ने ब्याट्रीयुक्त कृत्रिम यन्त्र ‘पेसमेकर’ राख्ने निश्कर्षमा चिकित्सकहरु पुगेका थिए । सोहीअनुसार सेन्टरका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलको नेतृत्वमा रहेको टोलीले उनको मुटुमा ‘ड्युल च्याम्बर पेसमेकर’ राखेको थियो ।

स्वस्थ व्यक्तिको मुटुको गति प्रतिमिनेट ६० देखि १०० हुन्छ । अर्थात यो गतिमा मुटु धड्किन्छ । उपचारअघि राष्ट्रपति पौडेलको मुटुको गति भने केही समय सुस्त र केही समय सामान्य गतिमा थियो । ड्युल च्याम्बर पेसमेकरले यो गतिलाई कम वा बढी हुन नदिइ सन्तुलनमा राख्ने काम गर्छ ।

राष्ट्रपतिमा पदबहाली भएयता उनी विभिन्न समयमा गरी पाँचपटक अस्पताल पुगेका छन् । २०७९ फागुन २७ गते बहाली भएका उनी चैत १८ गते छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

पाँच दिनको उपचारपछि डिस्चार्ज भएका उनी फेरि वैशाख ४ गते शिक्षण अस्पताल नै पुगे । त्यतिबेला उनको फोक्सोमा संक्रमण देखिएको थियो । वैशाख ५ गते शिक्षण अस्पतालमा नै रहेका राष्ट्रपतिलाई थप उपचारका लागि वैशाख ६ मा भारत लगिएको थियो ।

भारतबाट उपचार गरेर फर्किएको डेढ महिनामा नै उनको मुटुमा समस्या देखिएको हो । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij