सारांश
नेपाली कांग्रेसले आगामी एक वर्षमा सात लाख सदस्य थप्ने महत्वाकांक्षी योजना अघि सारेको छ । झन्डै ११ महिनापछि भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्तावमा सदस्यता बढाउनेदेखि पार्टीका केन्द्रीय विभाग विस्तारसम्मका योजना छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले केही केन्द्रीय सदस्यको सहयोगमा कार्ययोजना तयार गरेको उनको भनाइ छ ।
‘२० साउनदेखि ०८१ असार मसान्तसम्म ‘घरघर जाऊँ पार्टी सदस्य बनाऔँ’ भन्ने राष्ट्रिय अभियान सुरु हुनेछ । अभियानअन्तर्गत कम्तीमा पाँच लाखदेखि सात लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्ने प्रस्ताव छ,’ महामन्त्री थापाले बैठकमा भने ।
हाल कांग्रेसका ४८ विभाग छन् । सबै क्षेत्र समेटेर पार्टीमा संगठित गर्ने गरी २२ विभाग थप्ने प्रस्ताव बैठकमा पेस भएको छ । १५ भदौभित्र सबै विभाग र समिति गठन गरे पूर्णता दिइसक्ने महामन्त्रीको कार्ययोजनामा उल्लेख छ । सबै विभागहरूले भदौभित्र वार्षिक कार्यतालिका बनाएर कार्यसमितिमा पेस गर्ने र प्रत्येक ६ महिनामा प्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था गरिनेछ । त्यस्तै, शुभेच्छुक संस्थाले तीन महिनाभित्र महाधिवेशन सक्ने तथा जनसम्पर्क समितिको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । तीनवटै तहमा सहजीकरण तथा अनुगमन समिति गठन गर्ने र घोषणापत्रअनुसार काम गर्ने तथा केन्द्रीय तहबाट त्यसको अनुगमन गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
केन्द्रीय सदस्यलाई ११ महिना पार्टीको काममा र एक महिना छुट्टी दिने कार्यतालिका छ । महामन्त्रीद्वयले असार महिना खेती र प्राकृतिक विपत्को सामनाका लागि तयारी रहने गरी तालिका बनाएका छन् । ‘साउनबाट कार्यतालिका सुरु हुन्छ । जसमा केन्द्रीय कार्यसमिति बैठक विधानअनुसार कम्तीमा दुई महिनामा एकपटक गर्ने कार्यतालिका रहनेछ । आवश्यकताअनुसार कार्यसम्पादन बैठक बस्नेछ । अबको असोज, मंसिर, माघ, चैत र जेठको पहिलो हप्तामा बैठक बस्ने तोकेका छौँ । कम्तीमा दुई बैठक उपत्यकाबाहिर बस्नेछ,’ प्रस्तावमा भनिएको छ ।