सारांश
काठमाडौं । अन्तत: एफ एफ रेडियोकर्मी र स्रष्टा बीचको वाकयुद्द सकिएको छ।
रेडियो प्रसारक संस्थाहरुले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनालाई ब्याण्ड गर्ने यसअघिको निर्णय फिर्ता लिएसङ्गै व गत महिनादेखि शुरु भई यही श्रावण १ गतेदेखि चरमोत्कर्षमा पुगेको वाकयुद्द सकिएको हो।
मंगलबार संयुक्त वक्तव्य जारी गर्दै रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले उक्त निर्णयलाई फिर्ता लिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत संगीतकार अधिकारीले आफ्ना विवादित अभिव्यक्ति फिर्ता लिएको र स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाएकाले निर्णय फिर्ता लिइएको जनाइएको छ ।
‘यसका लागि उहाँप्रति सम्मानभाव प्रकट गर्दै संगीत रोयल्टी संकलन तथा वितरणलाई व्यवस्थित एवं पारदर्शी रुपमा अघि बढाउने कार्यमा सहकार्य गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गतेको बैठकबाट गरिएको संगीतकार अधिकारीका सिर्जना प्रसारण गर्न नसकिने भन्ने निर्णय फिर्ता लिइएको छ ।’
संगीतकार अधिकारीले फेसबुकमा लेखेका कुरालाई लिएर दुवै पक्षबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलेको थियो ।
वास्तवमा रेडियोकर्मी र रोयल्टीकर्मी बीच विवाद आएको यो पहिलोपटक भने होइन। जब जब असार मसान्त आउँछ तब तब असारे मूल फुटे झैं यी दुईबीचमा विवाद आउने गरेको छ।
यो लगत्तै रेडियो प्रसारक तीन संस्थाले सुरेश अधिकारीको गीत ब्याण्ड गर्ने संयुक्त विज्ञप्ति निकाल्छ्न। अनि उता संगीतकार संघका अध्यक्ष चेतन सापकोटाको पहलमा संघको कार्यालयमा स्रष्टा-सर्जक संघ संस्थाको आकस्मिक बैठक डाकिन्छ र सात संस्थाले अधिकारीको गीत माथिको प्रतिबन्ध हटाउन पर्ने नत्र सबै स्रष्टा-सर्जकको गीत एफ एम रेडियोमा बजाउने नदिने निर्णयमा पुग्छन् ।
अनि त्यसपछि दिनहु जसो एफ एम रेडियोकर्मीको छुट्टै र सर्जकहरुको छुट्टै बैठक बस्छ, सामजिक संजाल यसैले भरिन्छ। दुवै पक्ष यही बेला वर्षौंदेखिको तुसको दीर्घकालीन समाधान खोज्नुपर्ने कुरामा अडिग देखिन्थे।
यसै क्रममा वान र अकोराबका सल्लाहकार समेत भैसकेका रेडियो देशान्तर अनि देशान्तर साप्ताहिकका प्रकाशक/सम्पादक कवीर राणाको संयोजनमा वान अध्यक्ष कुमार भट्टराई, अकोराब अध्यक्ष अर्जुन गिरी, अकोराब महासचिव किशोर थापा, संगीतकार एवं रोयल्टी अध्यक्ष सुरेश अधिकारी र गीतकार/सन्चारकर्मी लोकराज अधिकारीको उपस्थितीमा श्रावण १० गते दिउँसो ४ बजेतिर दुवैपक्ष वार्ताको टेबलमा बस्छन् , करीब साढे तीन घण्टा लामो चलेको त्यही छलफल बाट नै दुवैपक्ष गालीगलौज छोडेर आपसी सहमतिमा आ-आफ्ना हक अधिकार सुनिश्चित गर्ने सहमतिमा पुग्छन् । यसमा सेतुको भूमिका खेल्ने व्यक्ति थिए गीतकार एवं सन्चारकर्मी लोकराज अधिकारी।
यो गोप्य मिटिङ सम्प्न्न भएको केहीबेरमा संगीतकार एवं रोयल्टी अध्यक्ष सुरेश अधिकारीसंग बुझ्दा उनले दुवै पक्षबीच प्रारम्भिक सहमती भएको बताए।
यसको दुई दिन पछि अधिकारीको वालबाट फेरि लामो स्टाट्स आउँछ क्षमायाना सहितको । लगत्तै अकोराब अध्यक्ष अर्जुन गिरी पनि माफी शब्द नै काफी छ भनेर आफ्नो फेसबुकमा स्टाटस लेखिहाल्छ्न।
श्रावण १६ गते रेडियो प्रसारक तीन सस्थाको संयुक्त विज्ञप्ति आउँछ र संगीतकार अधिकारीको गीतमाथिको प्रतिबन्ध हटाईन्छ । भएको यही हो।