सारांश
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ । आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन् । यसअघि उनको स्वामित्त्वमा एनसेलको २० प्रतिशत सेयर रहेको थियो ।
आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो । सो सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो । उक्त कम्पनी आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त स्वामित्त्वमा छ ।
आचार्यले कम्पनीको सेयर खरिदपछिको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, “म यो सम्झौताबाट खुसी छु । दुरसञ्चार उद्योगमा रहेको मेरो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविस्कार, लगानी र नेपाली जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहनेछु ।”
आजियटा सन् २०१६ मा नेपाल भित्रिएको थियो । त्यसबेला एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियटाले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको थियो । आजियटाले अहिले आफ्नो सम्पूर्ण सेयर पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ ।अर्थात् अहिलेको मूल्यमा ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा यो सेयर खरिद गरेको देखिएको छ ।
एनसेलको लाइसेन्स अब ६ वर्षमात्रै रहेको छ । आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो ।