प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
सारांश
काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको तथा ठूलो संख्यामा नागरिकको दैनिक जनजीवन प्रभावित बनेको अवस्थामा प्रभावित क्षेत्र तथा समुदायको सहयोगका लागि उक्त रकम कोषमा जम्मा गरिएको हो।
सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराएको जनाएको छ।
बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा सडक, पुल, घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा नागरिकको आवतजावत तथा दैनिक जीवनसमेत प्रभावित भएको छ। विपद्पछि प्रभावितको उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि सरकार तथा विभिन्न संघसंस्थाले सहयोग र सहकार्यलाई तीव्रता दिइरहेका छन्।
सिटी एक्सप्रेस ग्रुपले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै मानवीय सहयोगलाई निरन्तरता दिँदै आएको जनाएको छ। समूहले उपलब्ध गराएको उक्त सहयोगले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारी कोषमा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम बढिरहेको छ।