Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

अर्थमन्त्रीको ठूला बहुराष्ट्रिय करदातालाईआग्रह– ‘नेपालमा लगानी बढाउनुहोस्, सरकार साझेदार बनेर उभिन्छ’


सारांश

अर्थमन्त्रीको ठूला बहुराष्ट्रिय करदातालाईआग्रह– ‘नेपालमा लगानी बढाउनुहोस्, सरकार साझेदार बनेर उभिन्छ’
images

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।

बैठकमा वाग्लेले उद्योगी–व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने बताए। उनले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे।

‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्, नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ,’ उनले भने।

वाग्लेले अर्थतन्त्रको रूपान्तरण सरकार वा कुनै एक मन्त्रालयले मात्र गर्न नसक्ने भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। सरकारको प्राथमिकता कर संकलनमा मात्र सीमित नभई उत्पादन, लगानी, रोजगारी र पुनःलगानीको चक्रलाई गति दिनु रहेको उनको भनाइ छ।

उनले नेपालमा वैध रूपमा गरिएको लगानी र सम्पत्तिको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताए। लगानीकर्ताले नियम स्थिर, कर प्रणाली पूर्वानुमेय र आफ्नो लगानी सुरक्षित रहेको अनुभूति गर्नुपर्नेमा उनले जोड दिए।

बैठकमा उद्योगी–व्यवसायीले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात तथा सरकारी प्रक्रियाका समस्याबारे सुझाव दिएका थिए।

अर्थमन्त्री वाग्लेले आगामी ६ महिनामा सरकारले गर्नुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे समेत ठूला करदातासँग सुझाव मागे। उठेका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गर्ने र अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’मार्फत अनुगमन गर्ने उनले बताए।

बैठकमा सूर्य नेपाल, एनसेल, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स, वरुण बेभरेजलगायत २० ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए।

 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij