एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर निकालेको छ। अदालतले यो निर्णय ४–३ ले सुनाउँदै ट्रम्प चुनाव लड्न योग्य नभएको बताएको हो ।
अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।
मंगलबार लिइएको निर्णय कोलोरा राज्यमा मात्र लागू हुनेछ। यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ।
सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यत्तिकै यी निष्कर्षमा पुगेका छैनौँ। हामी हाम्रा अगाडि रहेका प्रश्नहरू र त्यसको नतिजा कत्तिको ठुलो हुने भन्ने बारेमा हामी सचेत छौँ।’
“यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यमा सचेत रहँदै, कुनै डर, पक्षपात बिना र हाम्रो निर्णयप्रति जनताको प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ,’ अदालतले भनेको छ ।