Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तेस्रो पटक जेल सजाय


सारांश

पाकिस्तानका पूर्वप्रधानमन्त्री  इमरान खानलाई तेस्रो पटक जेल सजाय
images

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरइस्लामिक विवाह गरेको भन्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ।

रावलपिण्डीस्थित अडियाला जेलभित्रै शनिबार सुनुवाइ गर्दै अदालतले सन् २०१८ मा खानले बुशरा बिबीसँग गरेको विवाह गैरइस्लामिक र गैरकानुनी ठहर गर्दै दुवै जनालाई सात वर्ष जेल सजाय सुनाएको बिबिसीले जनाएको छ।

खानविरूद्ध जेल सजाय सुनाएको यो तेस्रो फैसला हो। यो मुद्दामा भने बिबीका पूर्वश्रीमानले विवाह गैरइस्लामिक भएको भन्दै उजुरी दिएका थिए। 

मुस्लिम समुदायमा श्रीमानसँग डिभोर्स भएको वा श्रीमानको मृत्यु भएको केही महिनासम्म महिलाले विवाह गर्न रोक लगाएको बिबिसीले समाचारमा उल्लेख छ। इजलासले सुनुवाइको क्रममा बिबीले डिभोर्स गरेपछि तोकिएको समय नसकिँदै खानसँग विवाह गरेको पाइएको थियो।

यस कसुरमा सात वर्ष जेलसँगै ५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ। गत बुधबार नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले रावलपिण्डीमा खान र बिबीलाई १४ वर्ष जेल सजाय सुनाएको थिए। 

राज्यले प्राप्त गरेका उपहार बेचेको आरोपमा उनीहरूलाई ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवानासहित जेल सजाय सुनाइएको थियो। आदेशपछि खान दम्पती १० वर्षसम्म कुनै पनि सरकारी पदका लागि अयोग्य ठहर भएका थिए। 

त्यसअघि मंगलबार साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो। सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना/सन्देश हो। खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ।

त्यसअघि राज्यले प्राप्त गरेको उपहार बेचेको मुद्दा (तोशाखाना मुद्दा) मा इस्लामावादको उच्च अदालतले खानलाई ३ वर्ष जेल सजाय सुनाएको थियो। गत अगष्टमा खानले आफू सत्तामा हुँदा सन् २०१८ देखि २०२२ सम्म ५ लाख १ हजार अमेरिकी डलर बराबरको सरकारी उपहार बेचेको भन्दै उक्त सजाय सुनाइएको थियो। पछि उक्त सजाय स्थगित भए पनि अन्य मुद्दा चलिरहेको हुँदा उनी जेलमै रहेका थिए। हाल उनी अडियाला जेलमा छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij