सारांश
काठमाडौं । चलचित्र ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को प्रदर्शन मिति सरेको छ । चलचित्र अब कात्तिक ९ मा रिलिज नहुने भएको छ ।
बिहीबार चलचित्रकी निर्देशक समुन्द्र भट्टले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मिति स्थगित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, “हाम्रो चलचित्र गुन्यो चोलो विशेष तयारी गर्ने योजना भएकाले केही समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौँ । हामीलाई तपाईंहरूले दिनुभएको माया र साथप्रति निकै आभारी छौँ ।”
रिलिज मिति कहिलेको लागि सरेको भन्नेबारे भने उनले अहिले खुलाएकी छैनन् । रिलिज मितिसँगै एउटा ठूलो खुसीको खबर पनि सार्वजनिक गर्ने उनले बताएकी छन् ।
नाजिर हुसेन अभिनीत ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को निर्माण टिमले केही समय अघि नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको थियो । नाजिरको उक्त ‘ट्रान्सवुमन लुक्स’ले चर्चा पाएको थियो ।
निर्देशक भट्टले र अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ ।