सारांश
काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।
सत्ता साझेदार दलका एक नेताका अनुसार राष्ट्रपति र सभामुख एमालेले लिनेबारे पनि छलफल भएको थियो। जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ। उपराष्ट्रपति र उपसभामुख कुन-कुन पार्टीले लिने भन्नेबारे सहमति भइसकेको छैन।
सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले राष्ट्रपति लिन कोसिस गरिरहेको छ।