सारांश
काठमाडौं । प्रतिनिधिसभाको नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
उपसभामुखमा निर्वाचित भएलगत्तै उनले विपक्ष दलका सांसदहरुलेसमेत उठाएका इस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताइन् ।
‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु। गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरूलाई उठाएका विषय वस्तुलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय सभामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्यादित र सुसंस्कृत गर्ने काम हुन्छ,’ उनले भनिन्, ‘उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ। आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु। तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु।’