Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

उज्यालो अभियान राम्रो लिडरसीप जन्माउनका लागि हो : कुलमान घिसिङ


सारांश

उज्यालो अभियान राम्रो लिडरसीप जन्माउनका लागि हो : कुलमान घिसिङ
images

 

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङले नेपाल अहिले इलेक्ट्रिक सवारी साधन चल्ने देशमा विश्वकै अग्रपंक्तिमा रहेको बताएका छन् ।

उनले १५ गुणासम्म सस्तो हुने भएकाले अहिले विद्युतीय सवारी साधन गाउं गाउं पुगेको उनले सुनाए । घिसिङले प्राधिकरण घाटामा छ भन्ने प्रचार गलत भएको प्रष्ट पारे ।

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके (सोने यूके)ले बिहीबार साउथ ह्यारोमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  घिसिङले आफ्नो कार्यकाल शुरु हुंदा नौं वर्ष अगाडि १६ घण्टासम्मको लोडसेडिङ रहेको देशमा त्यसलाई अन्त्य गरि ९० अर्ब रुपैयांसम्म नाफामा लान सम्भव भएको बताए ।

उनले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधिन अवस्थामा रहेको जनाउंदै  निजी क्षेत्र खुल्ला गरिएपछि गत ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको बताए ।

घिसिङले क्रस बोर्डर ट्रेडबारे उल्लेख गर्दै अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको समेत जनाए । गत वर्ष १७ अर्ब रुपैंयाँ बराबरको बिजुली निर्यात हुंदा आयात १२ अर्ब रुपैयां मात्र भएको उनले  बताए  ।

विद्युतका कारण राम्रो वातावरणीय प्रभाव परेको उल्लेख गर्दै उनले ग्रीन हाइड्रोजन नेपालको अर्को उर्जाको स्रोत हुने औंल्याए । र, यो क्लिन इनर्जी युरोप निर्यात गर्न समेत सकिने उनको धारणा थियो । उर्जाबाटै ट्रेड डिफिसिट शून्यमा लान सकिने विश्वास उनले व्यक्त गरे ।

इनर्जी सेक्यूरिटी, फुड सेक्युरिटीका लागि नेपालको हाइड्रोपावर प्रभावकारी बनेको उनले सुनाए । सोलार इनर्जी उत्पादन र प्रयोग बढिरहेको समेत घिसिङले उल्लेख गरे ।

 

ह्युमन रिसोर्स नेपालको एसेट भएको भन्दै विदेशमा रहेका नेपाली इन्जिनियरहरुले धेरै राम्रो काम गरेका उनले बताए । ‘तर, उनीहरुलाई नेपालमा बस्ने वातावरण भइरहेको छैन्’, उनले भने, ‘यसका लागि पनि तपाईंहरुकै योगदान आवश्यक छ ।’

नेपालमा बत्तीको मात्र उज्यालो होइन, सुशासन, समृद्धि र आशाको उज्यालो छर्न पनि आफूले सामाजिक अभियान उज्यालो नेपाल अभिभान शुरु गरेको उनले बताए । आफ्नो अभियानमा जोडिन आग्रह गर्दै घिसिङले यो अभियान राम्रो लिडरसीप जन्माउन भएको पनि प्रष्ट्याए ।

वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा समाधान गरेमात्र पनि नेपालमा विदेशका नेपालीबाटै यथेष्ट लगानी भित्रिने उनको भनाइ थियो।

इन्जिनियर घिसिङले सहभागीका विभिन्न जिज्ञासा समेत मेटाएका थिए । सहभागीहरुको विभिन्न प्रश्नमा उनले ३५ वर्षपछि हाइड्रो प्रोजेक्ट सरकारलाई हस्तान्तरण गर्नुपर्ने ऐन, पहिला घाटामा गएको प्राधिकरण कसरी एकाएक नाफामा गयो र लोडसेडिङ मुक्त बन्यो ? अहिले नयां कार्यकारी निर्देशकले फेरि किन प्राधिकरण घाटामा रहेको बताइरहेका छन् ? उज्यालो अभियान दलको प्रारम्भिक चरण हो वा सामाजिक अभियान ? आदिबारे प्रष्टयाएका थिए ।

सोने यूके अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले प्रमुख अतिथी घिसिङ एवं सहभागी सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले घिसिङसंग गहन छलफल भएकामा उनीप्रति धन्यवाद व्यक्त गर्दै विकासको आधारशीला नै उर्जा क्षेत्र भएको बताए ।

इन्जिनियर विना विकास कल्पना पनि गर्न नसकिने बताउंदै उनले आफ्नो दक्षता नेपालमा समेत लगाउनुपर्ने बेला आएको बताए । नेपालमा वातावरण भए लगानी गर्न आफूहरु नै सक्षम भएको उनको भनाइ थियो ।

इन्जिनियर विजय गुरुङले  कुलमान घिसिङलाई आफ्ना महत्वपूर्ण अनुभव सेयर गरेकामा आभार व्यक्त गरे । सो अवसरमा महासचिव मनोज पुनले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन सचिव संगीता पोख्रेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij