Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


सारांश

बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
images

हेटौँडा । बागमती प्रदेश सरकारका पाँच नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए । मन्त्रालय भागबण्डाअनुसार काभ्रेका बादेले सामाजिक विकास, रसुवाका तामाङले आर्थिक मामिला तथा योजना, ललितपुरकी नेपालले युवा तथा खेलकुद, भक्तपुरका श्रेष्ठले संस्कृति तथा पर्यटन, र चितवनकी रायमाझीले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल नेपाली कांग्रेसका पाँच जनालाई मन्त्री बनाएर १४ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

यसअघि कांग्रेसबाट खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र बिना विभागीय मन्त्रीमा धादिङका शिवराज अधिकारी नियुक्त भएका थिए । पछिल्लो भागबण्डामा अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

२० साउनमै नेकपा एमालेको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्रीमा रसुवाका भरत केसी, श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयरथ थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा बिन्दु श्रेष्ठ नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij