Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसि


सारांश

विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसि
images

लन्डन । बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताएका छन् ।

उनले अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिक पुगेर श्रद्धान्जली अर्पण गर्दै पुष्पमाला चढाए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहां पुगेका थिए । त्यसपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झण्डा बोकेका नेपालीहरु सम्मिलित र्यालीमा सहभागी भएर कुलमान हल प्रवेश गरेका थिए ।

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै  घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे । उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा भएको बताए। 

‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसंग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरुको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।

घिसिङले आफूले शुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए । बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए ।

‘यस सामाजिक अभियानमा म विश्वभर र स्वदेशमा रहेका नेपालीलाई जोड्न चाहन्छुु, उनले भने, ‘तपाईंहरु सबैले साथ दिए यो अभियान सफल हुन्छ भन्ने विश्वास मलाई छ ।’

नेपालमा वर्षेनी १५ खर्ब रुपैयां रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भएपनि राज्यले आफूहरुलाई अपमान गर्ने गरेको उनीहरुको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए ।

‘जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ । यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ । तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिकालगायत पश्चिमा देश बसेका नेपाली र पेशेबरहरुलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठीक होइन’ उनले भने । 

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतका नेपालीहरुले घिसिङलाई देशको नेतृत्वमा पुगेको हेर्न चाहेको बताउंदै उनले नेतृत्वमा गए वंशजको नेपाली नागरिकता कायम राख्न पहल गर्न आग्रह गरे । ‘विदेशमा रहेका नेपालीलाई संविधान प्रदत्त अधिकार दिनुपर्छ,’ उनले भने ।

यसअघि राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले पनि कुलमानसंग छुट्टै अन्तरक्रिया गरेको थियो । उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोशिशमा देश(विदेशका साथीहरुसँग जोडिएको जानकारी दिए ।

उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरि रहेकाले नेपालले धेरै फाइदा लिनसक्ने अवस्था रहेको जनाए । घिसिङले डायस्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोशिश गर्दा सास्ती खेप्नु परेकाले पुनः विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उनले बताए ।

‘अवको विश्व उर्जामा निर्भर भएकाले नेपालमा जल विद्युतको संभाव्यता अझै छ’, उनले भने,‘नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायस्पोराबाट धेरै लगानी जाने देखिन्छ।’

अध्यक्ष पुडासैनीले कुलमानको योगदानको प्रशंसा गर्दै  एनआरएनए यूकेले नेपाल राष्ट्र्का लागि काम गर्नेहरुसँग सहकार्यको हात अघि बढाउने जनाए ।

यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा.रक्षा थापाले फुल र खादा ओडाएर घिसिङलाई स्वागत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन एनआरएनए यूकेका पूर्वसचिव तिलक भट्टराईले गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरु तथा स्थानीयलाई एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij