यस वर्षको फागुन १९ गते नेपाली फिल्मबीच महासंग्राम हुने भएको छ । यो मितिबाट कुनै निर्माताले खुट्टा नकमाए बक्सअफिसमा पाँच फिल्मको भिडन्त हुनेछ । ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ले यो मिति रोजिसकेको अवस्थामा अब अर्को फिल्म ‘छड्के २’ पनि थपिएको छ । मंगलवार एक पोस्टर जारी गर्दै फागुन १९ गतेलाई यो फिल्मको प्रदर्शन मिति तोकिएको हो ।
पोस्टरमा अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको घाँटीदेखि पाखुरासम्म ट्याटुहरु खोपिएका छन् । लामो कपाल र कालो चश्मामा बाइकमा चलाउँदै देखिएका उनको अगाडि-पछाडि ग्याङस्टर हुलियामा केही केटाहरु बाइकमा सवार छन् । फिल्मको पोस्टर आकर्षक छ भने अनमोलको लुक्स जबर्जस्त छ । फिल्म ग्याङस्टर कथामा बनेको पोस्टरले नै बुझाउँछ ।