सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र परिवर्तित परिस्थिति र आगामी प्रतिनिधिसभा चुनावलाई ख्याल गर्दै ‘अर्लि महाधिवेशन’बारे बहस सुरु भएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिषा झाले मध्यावधि चुनावको सम्भावना देखिँदै महाधिवेशन अगाडि सार्ने विषयमा छलफल भइरहेको स्वीकार गरे पनि पार्टी केन्द्रीय समितिले अहिलेसम्म कुनै औपचारिक निर्णय नगरेको बताए।
उनका अनुसार आउँदो मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्रैबाट आएको छ र आफू पनि त्यही पक्षमा रहेको स्पष्ट पारे। यसअघि पार्टीले २०८२ फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो।
झाले भने, ‘‘दसैँ सकिएलगत्तै युद्धस्तरमा काम गर्ने हो भने अर्लि महाधिवेशन सम्भव हुन्छ, तर त्यसका लागि तोकिएको कार्यतालिका र निर्णयमा हेरफेर गर्नुपर्ने हुन्छ।’’
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भइसकेकाले महाधिवेशनको तालिका परिमार्जन आवश्यक देखिएको उनको भनाइ छ। रास्वपाले यसअघि असोजमा वडा, कात्तिकमा पालिका, मंसिरमा जिल्ला र माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको ३९ महिना मात्र भएको हो। स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको उदयसँगै पूर्वमिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा बनेको रास्वपा संसदीय चुनावमा चौथो शक्ति बनेको थियो।