सारांश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस र नेकपा (एमाले)प्रति तीखा शब्द प्रहार गरेका छन्। उनले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी कांग्रेस–एमालेकै कार्यकर्ताले गरेको आरोप लगाएका छन्।
बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत् बालेनले आन्दोलनका नाममा देश जलाउनेहरू नै अहिले बालबालिकामाथि दोष थोपर्न खोजिरहेको दाबी गरेका छन्।
“तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, अरूलाई एजेन्ट भन्छौ!” उनले लेखेका छन्।
त्यसपछि उनले थपे,
“आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ! लाज लाग्दैन?”
बालेनको यस्तो वक्तव्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनका समर्थकहरूले उनको बोलीलाई ‘कटु तर सत्य’ भनेका छन् भने उनका आलोचकहरूले ‘राजनीतिक पूर्वाग्रह’को संज्ञा दिएका छन्।
शाहले पछिल्ला दिनमा विभिन्न राजनीतिक दल र नेताहरूको दोहोरो चरित्रबारे टिप्पणी गर्दै आएका छन्। उनले पटक–पटक जनतामाथि अन्याय गर्ने प्रणालीमाथि असन्तुष्टि जनाउँदै ‘आन्दोलन र राजनीति दुवै सुधारको बाटोमा लैजानु पर्ने’ बताएका छन्।