सारांश
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको तयारीलाई लिएर शीर्ष नेताहरूबीच मतभेद तीव्र बनेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच कार्यतालिकासम्बन्धी छलफल निष्कर्षविहीन भएपछि पार्टीभित्र फेरि असमझदारी बढेको छ ।
महामन्त्री थापाले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्ने प्रस्तावसहित बैठकमा कार्यतालिका टुंग्याउन खोजेका थिए । तर कार्यवाहक सभापति खड्काले हालै सम्पन्न संस्थापन पक्षको भेलाको निष्कर्षलाई आधार बनाउँदै केहीदिन पर्खिनुपर्ने धारणा राखेका थिए ।
एक केन्द्रीय नेताका अनुसार छलफलका क्रममा दुवै पक्षबीच बोलाचालीसम्मको अवस्था सिर्जना भएको थियो । “कार्यवाहक सभापतिसँग मतभिन्नता देखाउन नचाहेर गगन थापा बैठकमा उपस्थित नभएको जानकारी हामीले पनि पाएका छौं,” ती नेताले भने, “सिधा बहिष्कार होइन तर दबाब दिने संकेत भने हो ।”
शुक्रबारको बैठक बिहान ११ बजे बोलाउने तयारी गरिएको भए पनि महामन्त्रीहरुसँग सहमति नजुटेपछि अनौपचारिक छलफलमा मात्र सीमित गरिएको स्रोतको भनाइ छ ।
कांग्रेसका धेरै जिल्लामा क्रियाशील सदस्यता विवाद बढ्दै गएको र त्यसको समाधानबिना महाधिवेशन अगाडि बढाउन कठिन हुने देखिएको नेताहरूको धारणा छ ।
यता, पार्टीभित्रका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । त्यसको जवाफी कदमस्वरूप संस्थापन पक्षले ‘काउन्टर हस्ताक्षर’ अभियान सुरु गर्ने तयारी गरेपछि आन्तरिक तनाव थप गहिरिएको बताइन्छ ।