सारांश
काठमाडौं । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ ।
उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।
‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ । भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ ।
‘धागो मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायतका कलाकारले साथ दिएका छन् । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम.घोघले गरेका हुन् ।
नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।