सारांश
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा हुनेछ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित आमनेसामने हुँदैछन्। आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुई नेताले उम्मेदवारी दर्ता गराएका हुन्।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। कुल ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने र एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा प्यानल तथा स्वतन्त्र दुवै रूपमा उम्मेदवारी परेको छ।
संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ।
महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै, तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्।
नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ भने विभिन्न भूगोल र क्षेत्रबाट केन्द्रीय सदस्य पदमा एक हजारभन्दा बढी उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।