काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार साँझ भेट भएको छ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछाने धरौटीमा रिहा भएसँगै पुनः राजनीतिक गतिविधिमा सक्रिय बनेका छन्। उच्च अदालत बुटवलबाट शुक्रबार रिहा भएका लामिछाने चितवन हुँदै काठमाडौँ आइपुगेका हुन्।
लामिछाने र बालेनबीच लगातार दुई दिनमा दुईपटक भेट भएको रास्वपा स्रोतले जनाएको छ। आइतबार पनि उनीहरूबीच भेट भएको थियो। चर्चायोग्य यो भेट कमलपोखरीस्थित निवर्तमान सांसद तथा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको हो।
भेटपछि असिम शाहले सामाजिक सञ्जालमार्फत ‘कथाको सुखद् सुरुवात’ भएको प्रतिक्रिया दिएका छन्। उनले रवि र बालेनको भेटलाई दुई दाजुभाइको मिलनको संज्ञा दिँदै यो व्यक्तिको मात्र नभई देशले खोजेको आशाको मिलन भएको दाबी गरेका छन्। साथै उनले सबै नेपालीलाई बधाईसमेत दिएका छन्।
छलफलको विषयवस्तु सार्वजनिक नगरिए पनि शाहले भनेका छन्, “अन्ततः कथाको सुखद् सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।”
भेटमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए भने रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम शाह सहभागी थिए।