काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन्।
कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने निष्कर्षमा पुगेका हुन्। महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले निर्वाचन नलड्ने निर्णय सार्वजनिक गरिसकेका छन् भने महामन्त्री थापाले पार्टी नेतृत्व परिवर्तन भए मात्र चुनाव लड्ने स्पष्ट सर्त अघि सारेका छन्।
विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका थिए। एक पदाधिकारीका अनुसार थापाले बैठकमा भने, “चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ। नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन। नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने अरू लड्नुस्, म चाहिँ लड्दिनँ।”
तर तत्काल नेतृत्व परिवर्तनको सम्भावना देखिएको छैन।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने नेतृत्व परिवर्तन भए पनि आगामी निर्वाचन नलड्ने स्वघोषणा गरेका छन्। उनले लगातार तीन पटक उम्मेदवार बनेकाले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताएका छन्। “लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको छु,” शर्माले बैठकमा भने।
उनले ‘पावर’ले भ्याएसम्म उम्मेदवार बन्ने, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हार्दा अर्को क्षेत्रमा उम्मेदवार बन्ने, बाँचुञ्जेल मन्त्री रहिरहने प्रवृत्ति तोड्न आवश्यक रहेको धारणा राखेका छन्।
यसअघि सहमहामन्त्री बद्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए। २६ मंसिरमा बसेको जिल्ला कार्यसमिति बैठकमा उनले उम्मेदवार बन्न इच्छुक नरहेको जानकारी दिएका थिए। बैठकपछि उनले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको बताएका थिए।
“सांसद र मन्त्री भइसकेँ। अब पार्टी सुदृढीकरणको काममा लाग्छु,” पाण्डेले भनेका छन्।
निर्वाचन नलड्ने घोषणापछि कांग्रेस बाजुराले पाण्डेको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छैन। उनी प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका थिए।
