Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेस महाधिवेशन विवाद : महामन्त्री गगन थापाले फरक मत राख्दै विधान पालनामा जोड दिए


सारांश

कांग्रेस महाधिवेशन विवाद : महामन्त्री गगन थापाले फरक मत राख्दै विधान पालनामा जोड दिए
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख २८ गते देखि ३१ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित भएको बताएका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले बैठकमा आफूहरूले फरक मत राखेपनि बहुमतले निर्णयलाई पारित भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको विधानको धारा ४३ जसले के भन्छ भने पार्टीको सबै तह र निकायको पदाधिकारी तथा सदस्यहरुको पदावली ४ वर्ष हुनेछ । असाधारण स्थिती आएमा केन्द्रिय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ । आज विधानको यो धारा प्रयोग गरेर प्रस्ताव राख्नुभयो । हामी चार पाचँ जना साथीहरुको फरक मत रहयो । त्यो फरक मतको बावजुत पनि बहुमतले पारित गरियो ।’

उनले विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य हुने दाबी गर्दै कार्यसम्पादन समितिको बैठकमा आफूहरूले फरक मत राखेको बताए ।

‘आज केन्द्रिय कार्य समितिले निर्णय गर्यो म पुस भित्र अधिवेशन गर्दिन भनेर आज पुस भित्र गर्दिन भनेपछि अब म विशेष पनि गर्दिन भन्न त पाइदैन । आजको बैठकमा केन्द्रिय समितिको पदावधी थप्ने तर विशेष नगर्ने भन्ने वा गर्ने भन्ने प्रस्ताव नआएको हुनाले विशेष अधिवेशन अनिर्वायरुपमा आउनु पर्छ,’ उनले थप भने, ‘पुस मसान्त भित्र गर्नैपर्छ । त्यसकारणले फरक मत हामीले राखेका छौँ। पार्टीका कार्यवाहक सभापतिसहित जिम्मेवार नेताले विधानको पालना गर्नुपर्छ। विधान उल्लङ्घन गर्न छुट कसैलाई छैन। हामी फरक मत राख्यौँ भनेर घरमा गएर सुत्दैनौँ।’

उनले केन्द्रीय समितिकै बैठक राखेर निर्णय नभए पनि विशेष महाधिवेशन हुने दाबी गरे ।

उनले चेतावनी दिँदै भने, ‘एक–दुई दिनमा बैठक नबोलाए आफू विधानको पालना नगरेको कुरा टुलुटुलु हेरेर नबस्नेछु। केन्द्रीय समितिकै बैठक राखेर निर्णय नभए पनि विशेष महाधिवेशन हुने दाबी मेरो छ। काठमाडौंमा पुसभित्र कांग्रेसको विशेष महाधिवेशन हुनेछ।’

पार्टीभित्रको महाधिवेशनको मिति र प्रक्रिया बारे विवाद र नेतृत्वमा फरक मत जारी रहे पनि गगन थापाले विधान पालना र विशेष महाधिवेशनको आवश्यकतालाई जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij