सारांश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर राष्ट्रपति पनि यही गठबन्धन भित्रबाट चुन्नुपर्ने जिकिर गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको करिब दुई घण्टा लामो भेटमा एमाले अध्यक्ष ओलीले पुस १० गते बालकोटमा राष्ट्रपति एमालेले पाउने सहमति भएकाले त्यही अनुसार राष्ट्रपति चुनिनु पर्ने बताएका थिए।
राष्ट्रिय सहमतिका नाममा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न लागेको भनेर एमाले सशंकित छ। माओवादीभित्र एमालेलाई राष्ट्रपति दिन नहुने मत बलियो छ। बहुसंख्यक नेताहरू राष्ट्रपतिमा कांग्रेसलाई सघाउनु पर्ने पक्षमा उभिएका छन्।
राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यसूची सार्वजनिक भइसकेको छ।