काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले सोमबार मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट स्पष्ट निर्णय नआएसम्म फिर्ता प्रक्रिया अघि नबढाउने आदेश दिएको हो।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते उक्त मुद्दा फिर्ता लिने निर्णय गर्दै जिल्ला सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन्। त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा निवेदन दर्ता गरेको थियो।
तर महान्यायाधिवक्ताको निर्णयविरुद्ध युवराज पौडेल (युवराज सफल)ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुनुवाइका क्रममा मुद्दा दर्तापछि थप प्रमाण फेला परेको दाबी गर्दै फिर्ता निर्णय गरिएको उल्लेख गरिएको थियो।
सर्वोच्च अदालतले थप प्रमाण पेश गर्न आदेश दिइसकेको छ। अब ती प्रमाण पेश भइसकेपछि मात्रै यस विषयमा अन्तिम निर्णय आउनेछ। लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन र रुपन्देहीलगायत जिल्लामा मुद्दा विचाराधीन अवस्थामा छन्।
