सारांश
काठमाडौं । ‘टिभी फिल्मी’बाट प्रशारण भएको ‘को बन्छ कलाकार ?’ रियालिटी शो को ‘बालकलाकार’ तर्फकी विजेता स्मृति ओलीले चलचित्र ‘नम्बरी सुन’ बाट नेपाली फिल्म नगरीमा डेब्यु गरेकी छिन् ।
झापा बिर्तामोड– ५ का युवा व्यवसायी टहलदास ओली र मिरा ओलीकी छोरी स्मृति कक्षा ५ मै अध्ययन गर्दा ‘को बन्छ कलाकार ?’ प्रतियोगितामा भाग लिएर विजयी भएकी थिइन् ।
चलचित्र ‘नम्बरी सुन’मा स्मृति ओलीसङ्गै गौरव पहारी,नम्रता सापकोटा, सरोज खनाल, स्मृति ओली, राजाराम पौडेल, बुद्धि तामाङ, सविन बाँस्तोला, विनोद न्यौपाने,किरण नेपालीलगायत कलाकारको अभिनय रहेको छ ।
१४ वर्षमा मिस टीन झापा–२०१५ को उपाधि बिजेता वन्दै मोडलिङ क्षेत्रलाई अगाडी वढाएकी उनले बलिउडमा चर्चित कलाकार अनुपम खेरको मुम्बईस्थित एक्टर प्रिपेरमा अभिनय अध्ययन गर्दै त्यही विभिन्न ट्रेनरसँग ट्रेनिङ लिएर अभिनय, नृत्य, एक्सन विधामा आफूलाई निपूर्ण समेत बनाएकी छिन् ।
हाल इन्जिनियरिङ अध्ययन गरिरहेकी उनी सानैदेखिको सपना नेपाली चलचित्रको कलाकार बन्ने रहेको र अहिले नेपाली कथानक चलचित्र ‘नम्बरी सुन’मा अभिनय गर्न पाएर त्यो सपना पूरा गरेको बताउँछिन् ।