Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

स्वायत्तताको नयाँ अध्यायमा नेविसंघ: रूपान्तरणको अगुवाइमा नारायण पाण्डे


सारांश

स्वायत्तताको नयाँ अध्यायमा नेविसंघ: रूपान्तरणको अगुवाइमा नारायण पाण्डे
images

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो संगठनात्मक स्वरूपमा महत्वपूर्ण रूपान्तरण गर्दै अब थप स्वायत्त र स्वचालित ढंगले सञ्चालन हुने निर्णय गरेको छ। शुक्रबार सम्पन्न अधिकार सम्पन्न सिनेट बैठकले संगठनलाई समयानुकूल, जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यसहित कार्यगत स्वायत्ततासम्बन्धी संकल्प प्रस्ताव पारित गरेको हो।

सिनेटको निर्णयअनुसार नेविसंघले अब आफ्ना नीति, कार्यक्रम, एजेन्डा, विधान तथा नेतृत्व चयनजस्ता विषयमा स्वतन्त्र रूपमा निर्णय गर्नेछ। यद्यपि, नेपाली कांग्रेसका मूल्य–मान्यता, आदर्श र सिद्धान्तप्रति संगठनको वैचारिक आस्था यथावत् रहने स्पष्ट पारिएको छ। यसले संगठनलाई वैचारिक रूपमा जोडिएको तर कार्यगत रूपमा स्वतन्त्र ढंगले अघि बढ्ने मार्ग सुनिश्चित गरेको छ।

NSU.jpgनेविसंघका केन्द्रीय कार्यवाहक अध्यक्ष नारायण पाण्डेले संगठनलाई रूपान्तरण गर्ने प्रक्रियामा यो निर्णयलाई महत्वपूर्ण र दूरदर्शी कदमका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार लामो समयदेखि संरचनागत सीमाभित्र रहेर काम गर्दा विद्यार्थी आन्दोलनको प्रभावकारिता अपेक्षाअनुसार हुन नसकेको अनुभवका आधारमा अब स्वायत्त कार्यशैली आवश्यक देखिएको हो। “विद्यार्थी संगठनलाई समयअनुकूल, अनुशासित र उत्तरदायी बनाउँदै सशक्त आवाजका रूपमा स्थापित गर्न स्वायत्तताको दिशामा अघि बढेका हौं,” उनले उल्लेख गरे।

पाण्डेले संगठनभित्र सुधारका पहलहरू यसअघि नै सुरु भइसकेको जानकारी दिँदै स्ववियुमा २८ वर्षे उमेर हदबन्दी तथा संगठनमा ३२ वर्षे उमेर हदबन्दी लागू गरिएको बताए। साथै, तोडफोड, अराजकता तथा कुनै पनि अमानवीय गतिविधिमा संलग्न नहुने स्पष्ट नीति अवलम्बन गरिएको उल्लेख गर्दै उनले नेविसंघलाई मर्यादित र जिम्मेवार विद्यार्थी संगठनका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए।

654448795_1597174351562471_2904341350847946521_n.jpgसिनेट बैठकले नेविसंघको १२औँ महाधिवेशन आगामी २० र २१ बैशाख २०८३ मा सम्पन्न गर्ने प्रस्तावसमेत पारित गरेको छ। उक्त महाधिवेशनलाई संगठनको नयाँ कार्यदिशा कार्यान्वयन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नेविसंघको यो निर्णयलाई विद्यार्थी राजनीतिमा नयाँ अभ्यासको सुरुवातका रूपमा लिइएको छ। कार्यगत स्वायत्ततामार्फत संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउँदै विद्यार्थीका मुद्दामा सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij