काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण देशभर मौसम प्रभावित बनेको छ।
हाल देशका अधिकांश स्थानमा आकाश बदली भएको छ। बागमती र गण्डकीका धेरै ठाउँमा तथा कोशी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि यस्तै खालको वर्षा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेशका साथै पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसहित अन्य केही स्थानमा राति पनि वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।