बुटवल–पाल्पा सुरुङमार्ग असोजदेखि सञ्चालन गर्ने लक्ष्य
सारांश
काठमाडौं । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ । आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको ६८ प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको यो आयोजना डिजाईन, स्वीकृति र निर्माण सबै जिम्मा निर्माण कम्पनीले नै लिएको छ ।
सुरुङमार्ग सञ्चालनपछि पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन, मर्मत र सुरक्षाको जिम्मेवारी बहन गर्नेछ भने त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी’ लागू हुनेछ ।
करिब १० अर्ब लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्कामार्फत करिब ७ अर्बमा सम्झौता गरिएको हो । जोखिमयुक्त मानिएको उक्त सडकखण्डलाई सुरक्षित बनाउने उद्देश्यले सुरुङमार्ग निर्माण गरिएको हो ।