सारांश
काठमाडौं । वडा दशैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दशैँका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट काट्न यात्रुको भीड लागेको हो।
आफ्नो गाउँघरमा परिवारसँग दशैँ मनाउन उपत्यका छाड्ने यात्रुहरू बिहानैदेखि नयाँ बसपार्क पुग्न थालेका छन्। टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै सर्वसाधारण टिकट लिन बसपार्कमा भेला भएका थिए।
दशैँमा यात्रुको चाप अत्यधिक हुने भएकाले समयमै टिकट काटेर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम बुकिङका लागि पुगेका हुन्। टिकट बुकिङ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको आवागमनसमेत बढेको छ।