सारांश
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) मा कर निर्धारणको आधार परिवर्तन गर्नुको उद्देश्य ‘पिक पावर’ को नाममा भइरहेको कर छली र विकृति अन्त्य गर्नु रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले अहिले सवारीसाधनहरू पनि ग्राहकको आवश्यकता अनुसार ‘कस्टुमाइज’ भएर आउन थालेकाले केवल पावर क्षमताका आधारमा कर लगाउने पुरानो प्रणाली व्यवहारिक नरहेको बताए।
उनले ईभी कर संरचनामा गरिएको परिवर्तनलाई कुनै व्यक्ति वा व्यवसायलाई लक्षित नभई दीर्घकालीन सुधारको कदम भएको दाबी गरे। उनका अनुसार नयाँ व्यवस्थाले महँगा र उच्चस्तरीय सवारी प्रयोग गर्ने वर्गबाट तुलनात्मक रूपमा बढी कर संकलन हुने सुनिश्चित गर्नेछ।
बैठकमा केही सांसदहरूले बजेट सार्वजनिक हुनुअघि नै करसम्बन्धी सूचना चुहावट भएको र त्यसबाट निश्चित समूहले लाभ लिएको आरोपबारे प्रश्न उठाएका थिए। त्यसको जवाफमा वाग्लेले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाण भए सार्वजनिक गर्न आग्रह गरे।
‘करको दर चुहावट भएको कुनै प्रमाण छ भने ल्याउनुस्, म जवाफ दिन तयार छु,’ उनले भने, ‘दुई अर्ब त परको कुरा, दुई रुपैयाँ अनियमितता गरेको प्रमाणित भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु।’