सारांश
काठमाडौं । अधिवक्ता पूर्णिमा कार्की ‘मिस नेपाल सुप्रानेशनल २०२६’ घोषित भएकी छन्। सोमबार काठमाडौंको सोल्टीमोडस्थित होटल क्राउन इम्पोरियममा आयोजित ‘मिस्टर एन्ड मिस सुप्रानेशनल नेपाल २०२६’ को भव्य क्राउनिङ समारोहमा उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रतिष्ठित उपाधि जितेकी हुन्।
कानुन व्यवसायमा सक्रिय कार्की रियल इस्टेट क्षेत्रमा समेत संलग्न छिन्। त्यसबाहेक अन्तर्राष्ट्रिय ट्राभल डकुमेन्ट्री प्रस्तोता, मोडल तथा सामाजिक अभियन्ताका रूपमा पनि उनले आफ्नो अलग पहिचान स्थापित गरेकी छन्। व्यावसायिक सफलता, व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको प्रभावशाली संयोजन प्रस्तुत गर्दै उनले निर्णायकहरूको मन जित्न सफल भइन्।
उपाधिसँगै कार्कीले आगामी सेप्टेम्बरमा पोल्याण्डमा आयोजना हुने विश्वप्रसिद्ध ‘मिस सुप्रानेशनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। त्यसका लागि उनी आगामी जुलाई १३ मा पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
उपाधिपछि प्रतिक्रिया दिँदै कार्कीले यो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली युवतीहरूको क्षमता, आत्मविश्वास र सपनाको प्रतिनिधित्वका रूपमा लिएको बताइन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संस्कृति, पहिचान र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिन्।
“यो केवल सौन्दर्य प्रतियोगिता होइन, नेतृत्व, व्यक्तित्व, आत्मविश्वास र समाजप्रतिको जिम्मेवारी प्रदर्शन गर्ने मञ्च हो। नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो,” कार्कीले भनिन्।
प्रतियोगिताका अध्यक्ष डा. सन्तोष उपाध्यायका अनुसार सुप्रानेशनल मञ्चले केवल आकर्षक व्यक्तित्व मात्र होइन, समाजमा सकारात्मक प्रभाव पार्न सक्ने र प्रेरणा दिन सक्ने युवाहरूलाई प्राथमिकता दिने गर्दछ। कार्कीले ती सबै मापदण्ड उत्कृष्ट रूपमा पूरा गरेकी उनले बताए।
यसैबीच, सिभिल इन्जिनियर मृधुल आचार्य ‘मिस्टर नेपाल सुप्रानेशनल २०२६’ घोषित भएका छन्। निर्माण व्यवस्थापन र व्यवसाय प्रशासनमा स्नातकोत्तर अध्ययन पूरा गरेका आचार्यले पनि आगामी सेप्टेम्बरमा पोल्याण्डमा हुने ‘मिस्टर सुप्रानेशनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।