सारांश
काठमाडौं । चर्चित सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा पक्राउ परेका साहलाई सोमबार साधारण तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार साहलाई कानुनी प्रक्रिया पूरा गरी तारेखमा छाडिएको हो । उनी शनिबार जनकपुरबाट पक्राउ परेका थिए ।
साहविरुद्ध सकुन्तला अधिकारी (थापा)ले उजुरी दिएकी थिइन् । होटल खरिद गर्ने भन्दै रकम लिएर भुक्तानी नगरेको आरोप लगाउँदै उनले जाहेरी दर्ता गराएकी थिइन् ।
यसअघि पनि साह बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भइसकेका छन् । अदालतले ३० जेठ २०८२ मा उनलाई २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार रुपैयाँ जरिवाना तथा एक महिनाको कैद सजाय सुनाएको थियो ।
तर उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी समयावधि बाँकी रहेकाले तत्काल कार्यान्वयनको अवस्था नरहेको भन्दै उनलाई साधारण तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।