राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ : ‘ऊनको स्वीटर’ सर्वोत्कृष्ट चलचित्र, मदनकृष्णलाई दीर्घ साधना सम्मान
सारांश
काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ मा चलचित्र ‘ऊनको स्वीटर’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधाका विजेतालाई पुरस्कार प्रदान गरेका हुन्।
यस वर्ष ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै समारोहमा वर्चस्व जमायो। चलचित्रका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक घोषित हुँदा मिरुना मगर उत्कृष्ट अभिनेत्री चुनिइन्।
उत्कृष्ट अभिनेताको अवार्ड भने चलचित्र ‘परान’का नीर शाहले हात पारे। सोही चलचित्रका दीपकप्रसाद आचार्य र यम थापाले उत्कृष्ट लेखकको सम्मान प्राप्त गरे।
प्राविधिक विधातर्फ ‘कोशेढुंगा’ले सफलता हासिल गर्यो। बाबु श्रेष्ठ उत्कृष्ट छायांकार तथा नहकुल खड्का उत्कृष्ट सम्पादक घोषित भए।
जुरी प्रोत्साहन पुरस्कार आना शर्मालाई ‘रमिताको पिरती’ र बिमोचन दवाडीलाई ‘झरी पछिको इन्द्रेणी’का लागि प्रदान गरिएको छ।
यसैगरी नेपाल भाषाको ‘इन्दिरा धिमे मैचा’ उत्कृष्ट आदिवासी चलचित्र घोषित भयो भने नेपाली कला क्षेत्रमा लामो योगदान पुर्याएका मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ।