सारांश
काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतमा दायर गरिएको मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहित १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीका अनुसार उक्त प्रकरणमा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले राहदानी छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको हो। यस प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सँग पनि बयान लिइएको थियो। तर अनुसन्धानपछि दायर गरिएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन।
यो मुद्दा राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितता र सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिसँग सम्बन्धित रहेको अख्तियारको दाबी छ।